दैलेख स्वास्थ्य सेवा कार्यालय दैलेख जिल्ला अस्पतालमा कार्यरत डा. जगत थापाले कोरोना भाइरस पहिलो खोप लगाएका छन् । अस्पतालमा आयोजित कोरोनाविरुद्धको कोभिशिल्ड भ्याक्सिन खोप शुभारम्भ कार्यक्रममा डा. थापालाई कोरोना भाइरस विरुद्धको पहिलो खोप दिएर खोप अभियान सुरु गरिएको हो ।
डा. थापा दैलेखमा कोरोना खोप लगाउने पहिलो व्यक्ति बनेका हुन् । त्यसपछि स्वास्थ्य कार्यालयका खोप अधिकृत थीरप्रसाद रेग्मी र अन्य स्वास्थ्यकर्मी तथा अस्पतालमा कार्यरत कर्मचारीहरुले पनि खोप लगाएका छन । कोरोनाविरुद्धको खोप पहिलो पटक लगाउन पाएकाहरु खुसी देखिन्थे । खोप लगाएपछि प्रतिक्रिया दिँदै डा. थापाले खोप लगाउँदा कुनै प्रकारको असर तथा दुखाई र स्वास्थ्यमा नकारात्मक असर देखा नपरेको बताए । खोपप्रति शंका नगरी निर्धक्क भएर खोप लगाउन डा. थापाले सुझाव दिएका छन् ।
पहिलो डोज खोप लगाउने अन्य स्वास्थ्यकर्मीहरुले समेत आफूहरुको स्वास्थ्यमा कुनै असर नदेखिएको भन्दै निर्भिकतापूर्वक खोप लगाउन सबैलाई आग्रह गरेका छन् । खोप अभियान उद्घाटन गरेसँगै दैलेखमा पनि खोप दिन थालिएको हो । दैलेख अस्पताल खोप केन्द्रबाट खोप दिन थालिएको हो । कोरोनाविरुद्धको कोभिशिल्ड भ्याक्सिन खोप शुभारम्भ कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले नेपालमा कोरोना संक्रमण देखिएको एक वर्षपछि नेपालीले कोरोनाविरुद्धको खोप लगाउन पाएको बताए ।

उनले खोपको विषयमा अपवाह फैलाइएजस्तो कुनै साइड इफेक्ट नहुने बताए । जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले भारतले सेरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप नेपाललाई सहयोग गरेको भन्दै भारत सरकारलाई धन्यवाद दिए । उनले जिल्लाका नागरिकहरुलाई आवश्यक पर्ने खोपको परिणामबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराईसकेको बताए । छिमेकी देश भारतबाट अनुदान स्वरुप प्राप्त खोप नेपाल सरकार मार्फत दैलेखलाई पहिलो चरणका लागि ४ हजार ४ सय ८० डोज खोप प्राप्त भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रसाद रेग्मील जानकारी छ ।
यो खोपको १० लाख डोज भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो । यो खोप पहिलो चरणमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा अग्रपंतीमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी, सरकारी गैरसरकारी तथा नीजि क्षेत्रमा कार्यरत कर्मचारी, स्वास्थ्य संस्थामा कार्यरत सहयोगी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, सरसफाईकर्मी, एम्बुलेन्स तथा शव वाहान चालक, कोरोना व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा आश्रीत नागरिक तथा कर्मचारीलाई दिइने छ ।


