दक्षिण एसियाकै ठूलो कर्णाली चिसापानी ‘गेम चेन्जर’ आयोजना अगाडि बढाउने तयारी

गज्जब नेपाल
२०८० भाद्र ९, शनिबार ११:३३

पहिलो अध्ययन भएकै ६ दशकपछि अहिले सरकारले १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी आयोजना अगाडि बढाउने तयारी गरेको छ। दक्षिण एसियाकै ठूलो आयोजनाको सरकारले औपचारिक रुपमा अध्ययन गर्दै छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णाली चिसापानीको सपनालाई मूर्त रुप दिने बताएका छन्। पहिलो पटक प्रधानमन्त्री हुँदा नै कर्णाली चिसापानी बनाउने सपना देखेको दाहालले सुनाए। आफ्नो कार्यकालमा कम्तिमा एउटा ‘गेम चेन्जर’ आयोजना अगाडि बढाउने योजनामा रहेका दाहालले वर्षौंदेखि नेपाल आत्मनिर्भर बन्ने सपना एउटा आयोजनाले पूरा गर्ने दाबी गरे।

‘१० हजार ८ सय मेगावाट भनेको झन्डै चमत्कार जस्तै हो,’ प्रधानमन्त्री दाहाल भन्छन्, ‘यति ठूलो आयोजना अघि बढाउन सक्यौँ भने नेपाली जनता र राष्ट्रको भविष्यमा गुणात्मक प्रभाव पार्छ।’ ‘नेपालको अर्थतन्त्रको विकास कर्णाली चिसापानीजस्ता ठूला आयोजनाबाट मात्रै सम्भव हुन्छ,’ प्राधिकरणको एक कार्यक्रममा दाहालले भने, ‘हामीले त्यसको अध्ययनको जिम्मा नेपाल विद्युत प्राधिकरणलाई दिने तयारी गरेका छौँ।’

प्रधानमन्त्री दाहालले पछिल्लो समयमा गरेका कामहरुबाट विद्युत प्राधिकरणको नेतृत्व सक्षम देखिएको बताए। ‘विद्युत प्राधिकरणका एमडी (कुलमान घिसिङ) ले लोडसेडिङ अन्त्यको पहलकदमी लिएको सबैलाई थाहा छ,’ दाहालले भने, ‘त्यसैले कर्णाली चिसापानीको औपचारिक अध्ययन पनि गरोस् भनेर प्राधिकरणलाई दिन लागेका हौँ।’

पछिल्लो समय विद्युत प्राधिकरणले ४५६ मेगावाटको अपर तामाकोसी सम्पन्न गरेको छ भने जलाशययुक्त बुढीगण्डकी आयोजना निर्माण सुरु गर्ने तयारीमा छ। सरकारले अन्तर्राष्ट्रिय विज्ञ समिति बनाई कर्णाली चिसापानी परियोजनाको थप अध्ययन गर्न प्राधिकरणलाई दिने तयारी गरेको हो।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले कर्णाली चिसापानीलाई नेपालको ‘थी गर्जेज’ परियोजनाको रुपमा लिएको बताए। सरकारले प्राधिकरणलाई थप अध्ययनको जिम्मेवारी दिए आफूहरुले कुशलतापूर्वक अध्ययनगरी निर्माणको आधार तयार गर्ने घिसिङको भनाइ छ।

प्राधिकरण अन्तर्गत छुट्टै कार्यालय खडा गरी अन्तर्राष्ट्रिय क्षेत्रमा दक्ष सावित भैसकेका विज्ञहरूको टिम बनाएर कर्णाली चिसापानी आयोजनाको समग्र पक्षबारे अध्ययन हुनेछ। मन्त्रीपरिषदले यसबारे निर्णय गर्नासाथ काम सुरु गर्ने प्राधिकरणको तयारी छ। ‘कर्णाली चिसापानीलाई अघि बढाएर देशको समृद्धिको लक्ष्य पूरा गर्नुपर्छ,’ घिसिङले नेपालखबरसँग भने।

विद्युत प्राधिकरणका निर्देशक नसिवमान प्रधानले हालका अध्ययनलाई आधार बनाएर थप अध्ययन हुने बताए। ‘कर्णाली चिसापानी धेरै ठूलो परियोजना हो। यसलाई क्षेत्रीय आयोजनाको रुपमा विकास गर्नेगरी अध्ययन गर्ने तयारीमा छौं,’ प्राधिकरण अन्तर्गतको इन्जिनियरिङ निर्देशनालयका प्रमुख प्रधानले भने, ‘हामीले मात्रै बनाउन सक्दैनौँ, खपत गर्न पनि सक्दैनौँ।’

नेपाल विद्युत प्राधिकरणले नेपालसहित, भारत, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान लगायतका मुलुकलाई फाइदा पुग्ने क्षेत्रीय स्तरबाटै आयोजना बनाउन सकिने जनाएको छ। यी देशहरुमा सोलारबाट विद्युत उत्पादन हुँदै आएको छ।

Next Post

जनतासंग माओवादी विशेष रुपान्तरण अभियानः दैलेखमा तयारी पुरा

२०८० भाद्र ९, शनिबार ११:३३
‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ को तयारी दैलेखमा पनि पुरा भएको छ । भोलीबाट सुरु हुन लागेको अभियानकाे सम्पूर्ण तयारी पुरा भएकाे नेकपा माओवादी केन्द्र दैलेखका इन्चार्ज गाेपाल शर्माले बताएका छन् । जिल्लाका ११ स्थानीय तहका ९० वटै वडामा एकैसाथ सुरू हुनेगरि तयारी भएकाे उनले बताए ।  केहिदिन अघि जिल्लामा […]