काठमाडौँ- जाजरकोट केन्द्रविन्दु भएर भुकम्प जाँदा रुकुमको आठविसकोटमा एकैघरका ६ जना सहित १० जनाको ज्यान गएको प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताए।
सानीभेरी २ को पाखापानीमा २ जनाको मृत्यु भएको वडाअध्यक्ष मनोज बीसीले बताए। जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भुकम्पमा परी एकजनाको मृत्युको विवरण आएको र अरु पूर्ण विवरण आउन बाँकी रहेको बताए ।
उनले सदरमुकाममा कम्तीमा १५ देखि २० घरमा क्षति भएको विवरण आइसकेको बताए । चौरजहारी नगरपालिका-७ खत्री गाउँमा भूकम्पले घर भत्किदा घाइते भएका ८ जनालाई चौरजहारी नगर प्रहरीले उद्धार गरी एम्बुलेन्समार्फत् चौरजहारी अस्पताल पठाइएको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १२ स्यानीबर्खुमा २ जना र ठूलीबार्खुमा २ जनाको ज्यान गएको स्थानीय दलजित सेर्पालीले बताए । उनले कयौं घरहरु भत्किएको र धेरैजनाको हताहती भएको हुनसक्ने उनले आशंका गरे । तर मध्यराती भएकाले क्षतिको विवरण आधिकारिक प्राप्त हुन सकिरहेको छैन ।