चिकित्सक सङ्घद्वारा आन्दोलनको घोषणा, शुक्रबार देशभरका अस्पतालमा सेवा बन्द

गज्जव नेपाल संवाददाता
 
२०७७ आश्विन २१, बुधबार १८:४८ मा प्रकाशित

असोज २१, २०७७
काठमाण्डाै – डाक्टर गोविन्द केसीसँग वार्ता गरेर माग पूरा गर्न सरकारले चासो नदेखाएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

वार्ता टोली गठन गर्न असोज १८ गते सरकारलाई ७२ घण्टे अल्टिमेटम दिइएकोमा बेवास्ता गरेको भन्दै सङ्घले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

२२ गते बिहीबार बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गरी सङ्घका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्य संस्था वा अस्पतालहरुको प्राङ्गणमा जनस्वास्थ्यको मापदण्ड अपनाइ सामाजिक दुरी कायम गर्दै धर्ना गर्ने सङ्घले जनाएको छ ।

२२ गतेदेखि नै सङ्घका शाखा कार्यालयमा र देशभरका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल वा उपयुक्त ठाउँमा सामाजिक दुरी कायम गरी जनस्वास्थ्यको मापदण्ड अपनाइ अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर रिले अनसन गर्ने सङ्घले जनाएकाे छ ।

गोविन्द केसीको सत्याग्रह अन्त्यका लागि सहज वातावरण नगराएको अवस्थामा नेपाल चिकित्सक सङ्घले २३ गते शुक्रबार एक दिनका लागि देशैभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बहिष्कार गर्ने निर्णय गरिएको जनाएको छ ।

२३ गतेसम्म पनि सरकारले वार्ता टोली गठन नगरे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चिकित्सक सङ्घकाे घाेषणा छ ।

सङ्घद्वारा घोषणा गरिएका विरोधका कार्यक्रमहरु बाट उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुने सङ्घले चेतावनी दिएको छ ।

Next Post

जाजरकोट जीप दुर्घटना अपडेट: ज्यान गुमाउनेकाे संख्या ६ पुग्याे

२०७७ आश्विन २१, बुधबार १८:४८
असोज २१, २०७७ जाजरकोट – जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बुधबार जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । दुर्घटनामा वडाध्यक्षसहित ६ जनाको ज्यान गएको हो भने एक जना बेपत्ता छन् । त्यस्तै एक जना घाइते भएका छन् । जाजरकोट सदरमुकाम खलङ्गाबाट जुनीचाँदे गाउँपालिकाको केन्द्रतर्फ गइरहेको भे १ ज ९३५ […]

याे पनि पढ्नुहाेस्