वैशाख २२ । दैलेख
रातकाे ८ बजिसकेकाे थियाे । आकाश शान्त थियो, यतीबेलै नाैमूलेकाे प्राथमिक स्वास्थ्य केन्द्रमा भने जीवन र मृत्युबीचको छटपटी चलिरहेको थियो। अत्तालिँदै डा. वर्षाले जिल्ला अस्पताल दैलेखका डा. मनोज विश्वकर्मालाई फोन गरिन्। समस्या जटिल थियो— ‘कर्ड प्रोल्याप्स’ अर्थात्, शिशु जन्मनुअघि नै नाल बाहिर निस्किएको अवस्था। चिकित्सा विज्ञानमा यसलाई ‘इमर्जेन्सी’ मानिन्छ, किनकि नाल थिचिनेबित्तिकै बच्चामा अक्सिजन र रगतको प्रवाह रोकिन्छ र केही मिनेटमै शिशुको गर्भमै मृत्यु हुन सक्छ।
“सर, अवस्था निकै गम्भीर छ, के गर्ने?” डा. वर्षाको स्वरमा चिन्ता थियो। डा. मनोजले ढिला नगरी आदेश दिए, “तुरुन्तै एम्बुलेन्समा रिफर गर्नुस्, सँगै नर्स पठाउनुस् र बच्चाको टाउकोले नाल नथिचोस् भनेर हातले रोकेर राख्न भन्नुस्।” त्यहीँबाट सुरु भयो एउटा यस्तो यात्रा, जसले स्वास्थ्यकर्मीको कर्तव्य र साहसको नयाँ परिभाषा लेख्यो।

एम्बुलेन्सभित्रको त्यो संघर्ष
नौमुलेबाट दैलेख सदरमुकामसम्मको कच्ची बाटो, रातिको समय र एम्बुलेन्सको हुइँकाइ। भित्र बिरामी रगताम्य थिइन्। अनमी जमरा घर्ती मगरका लागि त्यो यात्रा जीवनकै सबैभन्दा कठिन परीक्षा थियो। उनले डाक्टरको निर्देशन पालना गर्दै बिरामीको योनिमार्गभित्र हात राखेर बाहिर निस्कन खोजेको नाललाई सुस्तरी भित्रै अड्याइरहेकी थिइन्।
एम्बुलेन्स हल्लिँदा होस् वा मोडहरू काट्दा, जमराको हात डगमगाएन। उनलाई थाहा थियो— यदि उनको हात अलिकति मात्र पनि तलमाथि भयो भने ती सानी आमाको काख रित्तिन सक्छ। नौमुलेदेखि दैलेख अस्पताल नपुगुन्जेल करिब सवा घण्टासम्म जमराले सोही कठिन अवस्थामा हात नझिकी बच्चालाई जीवनदान दिइरहिन्। उनको त्यो एउटा हात नै बच्चाका लागि सास फेर्ने नली बनेको थियो।
अस्पतालको दौडधूप र डाक्टरको जोखिम
उता जिल्ला अस्पतालमा डा. मनोज विश्वकर्मा र नर्सिङ इन्चार्ज नैना गुरुङको टोली ‘हाइ अलर्ट’ मा थियो। बिरामी आइपुग्नेबित्तिकै कुनै औपचारिकता पुरा नगरी सिधै शल्यक्रिया कक्ष (OT) मा लगियो। भिडियो एक्सरे गर्दा देखियो— बच्चाको धड्कन प्रतिमिनेट ६० मा झरिसकेको थियो। सामान्यतया यो १२० देखि १६० हुनुपर्छ।

“हामीसँग समय फिटिक्कै थिएन,” डा. मनोज सम्झिन्छन्। तर समस्या अर्को पनि थियो। एनेस्थेसिया सहायक (बेहोस बनाउने प्राविधिक) बिदामा थिए। न बिरामीले गर्भावस्थामा कहिल्यै जाँच (ANC) गराएकी थिइन्, न उनको रगतको समूह नै थाहा थियो। रगत परीक्षण गरेर रिपोर्ट पर्खने समय पनि थिएन।
त्यसपछि डा. मनोजले एउटा ठूलो जोखिम मोले। उनले आफैं बेहोसीको सुई (Spinal Anesthesia) लगाए र शल्यक्रिया सुरु गरे। एकातिर अनमी जमराले अझै पनि हातले नाललाई सुरक्षित राखेकी थिइन् भने अर्कोतिर डाक्टरको टोलीले तीव्र गतिमा शल्यक्रिया गरिरहेको थियो।
नयाँ जीवनको मुस्कान
शल्यक्रिया सुरु भएको १५ मिनेटभित्रै ओटीभित्र एउटा सानो आवाज सुनियो— नवजात शिशुको रोदन। त्यो रोदन मात्र थिएन, मृत्युमाथि जीवनको विजयको घोषणा थियो। जमराले बल्ल आफ्नो हात बाहिर निकालिन्। उनको हात लत्रक्क गलेको थियो, तर अनुहारमा एउटा ठूलो सन्तोष थियो।
दैलेखमा आज पनि चेतनाको अभाव छ। ती महिलाले एकपटक पनि स्वास्थ्य संस्थामा गएर आफ्नो गर्भ जाँच गराएकी थिइनन्। यदि त्यो रात स्वास्थ्यकर्मीहरूले अलिकति मात्र अल्छी गरिदिएको भए वा जमराले एम्बुलेन्समा त्यो साहस नदेखाएको भए, कथा अर्कै हुन्थ्यो।
आज आमा र शिशु दुवै सुरक्षित छन्। यो सफलता कुनै चमत्कार थिएन, बरु डा. मनोजको निर्णय क्षमता, अनमी जमराको धैर्यता र सिंगो नर्सिङ टोलीको सामूहिक प्रयासको प्रतिफल थियो। दैलेखको यो घटनाले प्रमाणित गरिदिएको छ कि— जब सीमित स्रोत र साधनका बीचमा ‘इच्छाशक्ति’ जोडिन्छ, तब मृत्युको मुखमा पुगेकाहरूलाई पनि फर्काएर ल्याउन सकिन्छ।

