
काठमाण्डौ – सोमबार साँझमा दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा–आराधना गरिँदैछ। यो दिनलाई यमपञ्चक अर्थात् तिहारको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ। यमपञ्चक अन्तर्गत आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ ।
घरमा बिहानै सफा सुग्घर तथा गाईको गोबर एवम् रातोमाटोले लिपपोतसँगै दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।
आज विशेषगरी घरका झ्याल, ढोका, कोठा, कौसीमा सृङ्गार गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा र दिपावली गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ ।लक्ष्मी पूजाका लागि आज बेलुका चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो बनाउने गरिन्छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।
आज बेलुका भैलो समेत खेल्ने गरिन्छ ।पञ्चांग निर्णायक विकास समितिले तिथिको घटबढका कारण कार्तिक कृष्ण चतुर्दशी र औँसीको साँझमा गर्नुपर्ने विधि एकैदिन परेको जनाएको छ।


