दैलेख, भदौ ८ –
दैलेखको भगवतीमाई गाउँपालिका–१, बेस्तडामा अवस्थित श्री ज्वाला माध्यमिक विद्यालयले ६ रोपनी क्षेत्रफलमा धान खेती सुरु गर्दै कर्णाली प्रदेशकै नमुना प्राविधिक विद्यालयको रूपमा विकास हुने लक्ष्य अघि सारेको छ।
विद्यालय अन्तर्गत कक्षा ९ देखि १२ सम्मका बाली विज्ञान संकायका विद्यार्थीहरू ‘पढ्दै–कमाउँदै’ कार्यक्रममार्फत व्यावहारिक शिक्षामा सक्रिय छन्। विद्यार्थीहरूले कक्षा शिक्षासँगै बाली उत्पादन, पशुपालन र प्रयोगशालामा हुने वैज्ञानिक अभ्यासमा समेत सहभागिता जनाइरहेका छन्।
विद्यालयले आर्थिक वर्ष २०८१/८२ देखि धनियाको बीउ उत्पादन, कुखुरा पालन, च्याउ खेती र बे–मौसमी तरकारी उत्पादनलाई नियमित कार्यक्रमका रूपमा सञ्चालन गर्दै आएको छ। कृषि कार्यक्रम संयोजक मनसुन दाहालका अनुसार ५० वटा कुखुरा पालनबाट १० हजार रुपैयाँ नाफा लिइएको छ भने च्याउ खेतीमा ५ हजार लगानी गरेर दुईपटकको हार्भेस्टिङमा २० हजार रुपैयाँ आम्दानी गरिएको छ। सो आम्दानी विद्यालयको खातामा जम्मा गरिएको र केही हिस्सा विद्यार्थीहरूलाई समेत वितरण गरिने जानकारी उनले दिए।
व्यावसायिक उत्पादनसँगै विद्यालयले माटो परीक्षण, हाते ट्र्याक्टरको प्रयोग तथा मर्मत तालिमसमेत सञ्चालन गर्दै आएको छ। साथै, विद्यार्थीहरूले प्रयोगशालामा ‘टिस्यु कल्चर’ प्रविधिबाट च्याउको बीउ उत्पादन गर्ने सीप पनि सिकेका छन्।
हाल विद्यालयले आगामी शैक्षिक सत्र २०८२/८३ का लागि ६ रोपनी क्षेत्रफलमा धान खेती तथा १ रोपनी क्षेत्रमा खुर्सानी, भान्टा, भिण्डी र बोडीको खेती थालिसकेको छ। विद्यालयका अनुसार आजमात्रै २० किलो बोडी बजारमा बिक्री गरिएको छ।
कृषि कार्यक्रम विस्तार गर्ने योजनाअन्तर्गत विद्यालयले भविष्यमा मौरीपालन, माछापालन र बंगुरपालनसमेत सञ्चालन गर्ने तयारी गरिरहेको संयोजक दाहालले बताए।
विद्यालयका प्रधानाध्यापक रामबहादुर थापाले ‘पढ्दै–कमाउँदै’ कार्यक्रमले विद्यार्थीलाई आत्मनिर्भर बनाउँदै लैजानुका साथै समुदायलाई समेत प्रेरित गरिरहेको बताए। “निकट भविष्यमा विद्यालयलाई कर्णाली प्रदेशकै नमुना प्राविधिक विद्यालयको रूपमा विकास गर्ने हाम्रो योजना छ,” प्रधानाध्यापक थापाले बताए।


