चिनबाट आयाे खुसीकाे खबरः जलजलेमा भेटियो ४ सय ३० अर्ब घनमिटर मिथेन ग्यासको भण्डारण

तीर्थ भण्डारी
२०८२ असार ५, बिहीबार

दैलेख — दैलेखकाे जलजलेमा  ग्याँसकाे ठूलाे भण्डारण भएकाे अन्वेषणले देखाएकाे छ । दैलेखमा गरिएकाे पेट्रोलियम अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन चीनको जिओलोजिकल सर्वे कम्पनीले नेपाल सरकारलाई बुझाएको छ । जसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारणस्थल रहेको तथ्य खुलाइएको छ।

२०७८ वैशाख २८ गतेदेखि शुरु गरिएको ड्रिलिङ कार्य ४ हजार १३ मिटर गहिराइमा पुर्‍याइएको थियो। त्यहाँबाट संकलन गरिएका नमुनाहरूको परीक्षणमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासकोभण्डारण रहेको पुष्टि भएको छ। यो जम्मा चार वटा सम्भावित भण्डारणमध्ये पहिलो भण्डारणको मात्रै प्रारम्भिक नतिजा हो। बाँकी तीन वटा कुवाकाे प्रारम्भिक अनुमान अनुसार जलजले क्षेत्रमै कूल ४ सय ३० अर्ब घनमिटर ग्यास हुने प्रक्षेपण गरिएको छ । जसले करिब ५० वर्षसम्म नेपालको ग्यास आवश्यकतालाई पूरा गर्न सक्ने सम्भावना देखिएको छ।

यो ऐतिहासिक उपलब्धिलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मुलुकको आर्थिक अवस्था सुधारमा ठूलो मोड हुने सम्भावना रहेको बताएका छन्। “ड्रिलिङका क्रममा संकलित नमुनाहरू थप परीक्षणका लागि चीन पठाइएको थियो। त्यहाँबाट प्राप्त प्रारम्भिक प्रतिवेदन अहिले नेपाल सरकारलाई आधिकारिक रूपमा प्राप्त भइसकेको छ,” मन्त्री भण्डारीले बताए।

 

“जलजलेमा भेटिएको मिथेन ग्यासको मात्रा र सम्भावनाले सम्पूर्ण नेपालीको भविष्य उज्यालो बनाउने आशा पलाएको छ। सरकारले अब थप अन्वेषण र व्यावसायिक उत्पादन प्रारम्भ गर्ने तयारी गरिरहेको छ,” मन्त्री भण्डारीले भने। उनका अनुसार यो आयोजना सफल भएमा दैलेख मात्रै होइन, समग्र मुलुकको ऊर्जा आत्मनिर्भरता तर्फको यात्रामा युगान्तकारी परिवर्तन ल्याउनेछ।

खानी तथा भूगर्भ विभागका उप-महानिर्देशक तथा पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेश कुमार नापितका अनुसार नेपाल र चीनबीच २०१९ मा भएको जिटुजी सम्झौतापछि यो काम सुरु गरिएको थियो। यो अहिलेसम्मकै सबैभन्दा गहिरो र वैज्ञानिक रूपमा सम्पन्न गरिएको अन्वेषण परियोजना हो,” नापितले जानकारी दिए। नेपाल सरकारले दैलेखको जलजले क्षेत्रमा ४५ रोपनी जग्गा अधिग्रहण गरि अन्वेषण परियोजना सञ्चालन गरेको थियाे।

उनका अनुसार हाल प्राप्त भएको प्रतिवेदन प्रारम्भिक हो। ग्यासको गुणस्तर, व्यावसायिक उत्पादनको सम्भाव्यता र आर्थिक लाभांशका विषयमा अझ विस्तृत परीक्षण भइरहेको छ। चिनियाँ कम्पनीले सन् २०२५ डिसेम्बरसम्म अन्तिम प्रतिवेदन दिने तयारी गरेको छ। सोपछि डिसेम्बरभित्रै व्यावसायिक उत्पादन परीक्षण सुरु गर्ने सरकारी योजना रहेको बताइएको छ।

यस परियोजनाको उत्पादनका लागि  ६५ अर्ब लागत अनुमान गरिएको छ ।।साथै दाड, पाल्पा र सुनसरीमा समेत सम्भावित पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषणका तयारी गरिने मन्त्रालयले जनाएको छ।

मुलुकको ऊर्जा सुरक्षाका लागि यो परियोजना एक ऐतिहासिक अवसर सावित हुन सक्ने विश्वास पालिएको छ। यदि प्रारम्भिक अनुमानअनुसारको भण्डारण पुष्टि भएमा नेपाल इन्धन आयातमा निर्भर हुनुपर्ने अवस्थाबाट बिस्तारै मुक्त हुँदै स्वदेशी स्रोतबाट नै ऊर्जा उत्पादन र वितरण गर्न सक्ने अवस्थामा पुग्नेछ। नेपालको सम्भावित ऊर्जा क्रान्तिको थालनीका रूपमा यो सफलता चिनिएको छ।

Next Post

सिटिजन्स बैंक दुल्लूले गर्याे विपन्न विद्यार्थीलाई सहयाेग

२०८२ असार ५, बिहीबार
दैलेख — सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको दुल्लु शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दुल्लु नगरपालिका भित्रका दुई विद्यालयहरूलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ। शाखाले श्री पंचकोशी बहुप्रविधिक विद्यालय र महादेव आधारभूत विद्यालय, दुल्लुका गरी १०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो। दुबै विद्यालयका आर्थिक रूपमा कमजोर परिवारका ५०–५० जना […]