असोज १५ देखि कतार, साउदी र कुवेतबाट नियमित उडान हुने, उडान सङ्ख्या पनि थपियो

गज्जब नेपाल
२०७७ आश्विन ६, मंगलवार

असोज ६, २०७७
काठमाण्डौ – साउदी, कतार र कुवेतबाट पनि सरकारले नियमित उडान सुरु गर्ने भएको छ ।

सरकारले १ अक्टोबर अर्थात असोज १५ देखि खाडीका तीन देश कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने जनाएको छ । यसअघि भदौ १६ देखि शुरु भएको अन्तर्राष्ट्रिय उडानमा पीसीआर परीक्षण सहज नभएकाले यी देशमा नियमित उडान भएको थिएन । अहिले चार्टर्ड र उद्धार उडानमात्र भइरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खाडीका देशबाट नियमित उडानका लागि अक्टोबर महिनाको उडान सार्वजनिक गरेको छ । मन्त्रालयले यसअघि सेप्टेम्बर महिनाका लागि उडान तालिका सार्वजनिक गरेको थियो । पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले यसअघि चार्टर्ड उडानमात्र भएका तीन गन्तव्य दोहा, रियाद र कुवेतमा अब नियमित उडान गरिने जानकारी दिनुभयो ।

यी देशबाट हुने अन्तर्राष्ट्रिय उडानको तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको छ । सचिव अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत तीन देशबाट अन्तर्राष्ट्रिय उडान सङ्ख्या थपिएको र अहिले भइरहेका गन्तव्यमा नियमित उडान जारी रहने जानकारी दिनुभएको छ ।

उडान तालिकाअनुसार २५ दिनका लागि सातामा कूल औसत १०९ वटा उडान हुने गरी उडान तालिका तय भएको छ । अक्टोबर महिनाका लागि दैनिक १५ वटासम्म उडान अनुमति दिइएको छ । थप भएको उडान तालिकाअनुसार दोहामा नेपाल एअरलाइन्सका न्यारोबडी र वाइडबडी जहाज र हिमालय एअरलाइन्सले उडान भर्नेछन् । कुवेतबाट जजिरा एअरवेजले उडान गर्नेछ भने रियादबाट हिमालय एयरलाइन्सले नियमित उडान गर्ने जनाइएको छ ।

Next Post

कर्णाली जलाधार क्षेत्रमा यसरी हुँदैछ नदी सरसफाइ

२०७७ आश्विन ६, मंगलवार
कर्णाली नदी प्रदुषण हुन नदिन र जलीय जैविक विविधता संरक्षण गर्नका पानी परियोजनाले सक्रियता देखाएको छ । परियोजनाले मध्य कर्णाली जलाधार क्षेत्र अन्र्तगत कालिकोटको हुल्म देखी दैलखको तल्लो डुङ्गेश्वर सम्म सरसफाई गरेको परियोजनाका प्रमुख विकासबाबु बज्राचार्यले बताए । जलाधार क्षेत्रमा गठित ९ ओटा जलचर समुहका सदस्यहरुले नदि प्रदुषण नियन्त्रण गर्ने […]