दैलेख — दैलेख जिल्ला अदालतले २८ दिनको नवजात शिशु चाेरेर हैरानी दिने १६ वर्षीया बालिकालाई ३ वर्ष ४ महिना कैद र ३३ हजार ३ सय ३३ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ।
गएको चैत २८ गते ठाटीकाँध गाउँपालिका–१ सिलाडीका बमबहादुर बुढाकी ३५ दिने छोरी श्रीया बुढालाई एक किशोरीले चोरी गरेकी थिइन्। आगलागीको नाटक गर्दै बच्चा सुताइएको स्थानबाट चोरी गरी लगिएको शिशु चैत २९ गते बिहान चामुण्डामा फेला परेको थियो।
जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट सोमबार उक्त फैसला सुनाइएको हो। अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायका अनुसार अपहरण तथा शरीर बन्धक मुद्दामा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तथा आपराधिक उपद्रवको मुद्दामा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गरी एकीकृत रूपमा ५ वर्ष कैद र ५० हजार जरिवाना तय गरिएको थियो ।
बाल न्याय प्रणाली अनुसार दोषीको उमेरअनुसार एक तिहाइ छुट दिँदा ३ वर्ष ४ महिना कैद र ३३ हजार ३ सय ३३ रुपैयाँ जरिवाना कायम गरिएको हो। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै वैशाख १७ गते जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग दर्ता गरेको थियो। सोही दिन थुनछेक बहसपछि किशोरीलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाइएको थियो।


