बडा दशैँ आजदेखी सुरु , आज घटस्थापना

घटस्थापनाको साइत बिहान १० बजेर २३ मिनेटमा

केशबराज पाैडेल
२०७९ आश्विन १०, सोमबार ०७:२१

काठमाण्डौ –  बडा दशैँको पहिलो दिन आज घटस्थापना ।यसवर्षको दशैँ आजदेखि सुरु भएको छ । बडा दशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा सुरु हुने गर्छ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोपिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ ।

विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रयोग गरिन्छ । जमराको जुस विभिन्न रोगमा औषधिको रुपमा खाने गरिएको छ ।

आजैको दिन विधिपूर्वक घट अर्थात घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

आज घटस्थापनाको साइत बिहान १० बजेर २३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आजैदेखि नवरात्र सुरु हुन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

Next Post

स्वास्थ्य सेवा प्रवाहमा कर्णलीमा जाजरकोट एक नम्बरमा

२०७९ आश्विन १०, सोमबार ०७:२१
सुर्खेत -स्वास्थ्य सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट एक नम्बरमा आएको छ। कर्णाली प्रदेशका १० जिल्लाको समीक्षाबाट जाजरकोट ६४.४ अंक ल्याएर पहिलो भएको हो। ३१ वटा सूचकमाथि गरिएको अध्ययनबाट जाजरकोटको स्वास्थ्य सेवा कार्यालय कर्णालीकै पहिलो आएको छ।  त्यस्तै कार्यालय प्रमुखको प्रस्तुती, जिल्ला स्तरमा समीक्षा व्यवस्थापन, जिल्लाको समग्र प्रदेशमा प्रस्तुती र भौगोलिक […]