काठमाडौं
काठमाडौंमा पहिलोपटक एकैदिन १ सय ३४ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय ३४ जनामा संक्रमण पुष्टि भएको जनाए। संक्रमितमध्ये काठमाडौंका ११०, ललितपुरका १६ र भक्तपुरका ८ जना छन्।
उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको हो। यो अहिलेसम्म उपत्यकामा एकैदिन देखिएको धेरै संक्रमित संख्या हो। आजै मात्र कोरोनाका ६ सय ३८ संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ। त्यस्तै, ८३ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ।



