साताको एक दिन ब्रत बसौं

डा अरुणा उप्रेती
 
२०७७ श्रावण २७, मंगलवार १७:४४ मा प्रकाशित

 

 

डा अरुणा उप्रेती

 

 

 

‘यसपालिको तीजमा नो ब्रत प्लिज’ गीतले धेरै बहस उत्पन्न गरायो। आफूलाई लागेको कुरा मज्जासँग राख्न पाउनु नै लोकतन्त्रको सुन्दर पक्ष हो।

यो गीतमा धेरैले आ-आफ्नै राय दिए। तीजको ब्रतबारे बेग्लै बहस होला।

म यहाँ आज ब्रतको मात्र कुरा गर्छु र महिला-पुरुष दुवैलाई भन्छु- हरेक साता ब्रत बसौं प्लिज।

यो लेख गाउँका आधा पेट खाने वा एक छाक मात्र खाएर सुत्ने व्यक्तिहरूका लागि होइन। गाउँमा खेतमा काम गर्ने किसान, बन्दाबन्दीका बेलामा पनि मजदुरी गरेर घर चलाउने मजदुर परिवारका लागि पनि होइन। न गरिबीका कारण ‘स्वत’ ब्रत बस्नु पर्ने बाध्यता भएकालाई हो।

यो तपाईं-हामी जस्तो पत्रिका पढ्ने, बन्दाबन्दी बेलामा फिल्म हेरेर समय बिताउने, सहरिया जीवनशैली भएकाहरूका लागि हो।

विभिन्न धर्ममा ब्रतले स्थान पाएको छ। यस्ता ब्रत कसले लिने, कसले नलिने भनेर कतै खासै बहस हुँदैन। हरेक जात र विश्वासअनुसार कसैले लिन्छ, कसैले लिँदैन।

मुस्लिम धर्म मान्नेहरू रमादानको बेलामा एक महिनासम्म सूर्य उदाएदेखि नअस्ताएसम्म केही खाँदैनन्। अर्थात पूरा महिना रोजा (ब्रत) गर्छन्।

हिन्दु धर्ममा ब्रत बस्ने अवसर धेरै नै छन्। एकादशीदेखि नौरथाको ब्रत, विभिन्न पूजाआजामा, श्राद्धको अघिल्लो दिन एक छाक खाने, चन्द्र ग्रहण, सूर्य ग्रहण, विवाह, व्रतबन्ध बेलामा एक छाक मात्रै अन्न खाएर बसेको पनि ब्रत नै हो। किरियापुत्री बस्दा पनि हरेकका आफ्ना चलनअनुसार खान्छन्।

लिनेले अझ हरेक हप्ता कहिले दूध मात्र खाने, कहिले रस मात्र वा फलफूल मात्र खाने वा नुन नखाने, कतिले त शुक्रबार सन्तोषी माँको ब्रतमा गुड र चना खाने तर अमिलो नखाएर एक छाक शुद्ध तरिकाले पकाएको भात नै खान्छन्। तुलसीको पूजा गर्ने दिन हरिवोधीनी एकादशीमा ब्रत गरिन्छ। साउनमा प्रत्येक सोमबार शिवजीलाई खुसी पार्न ब्रत गरिन्छ।

ब्रतलाई संस्कृति र धर्मसँग जोडिएपछि त्यो जीवनको अभिन्न अंग बन्न पुगेको छ। विभिन्न समयमा लिने ब्रतहरूका बारेमा खासै चर्चा नभए पनि ‘तीज ब्रत र लोग्नेको खुट्टाको पान’ पिउने कुराले अहिले धेरै चर्चा परिचर्चा पाएको छ। लोग्नेको दीर्घ आयु होस् भनेर श्रीमतीले ब्रत बस्नाले लोग्नेको आयु बढ्दैन भन्ने तथ्य सबैले बुझे पनि ‘संस्कृति’ का नाममा त्यो ब्रत लिइन्छ नै।

ब्रत लिनु आफैंमा आपत्तिको कुरा होइन। अझ सकिन्छ भने हुने-खानेले त हरेक हप्ता अनेक बहानामा ब्रत लिए हुन्छ। स्वास्थ्य राम्रो हुन्छ।

ब्रत बस्नु भनेको अनुशासनमा बस्नु हो। पेटलाई केही समयका लागि आराम दिनु हो। ब्रत बस्दा पानी पर्याप्त पिउनुको अर्थ शरीरमा भएका विषालु तत्व शरीर बाहिर निस्कनु हो।

ब्रतको महिमा धेरै छ। सन् २०१६ मा एक जापानी वैज्ञानिकले ब्रत बस्दा शरीरमा कसरी विभिन्न प्रतिक्रिया भएर विषालु तत्वहरू निकाल्ने प्रक्रिया हुन्छ र यसले शरीर स्वस्थ राख्न मद्दत गर्छ भन्ने देखाए। जुन कुराका लागि ती जापानी वैज्ञानिकले नोबेल पुरस्कार पाए। त्यसको दार्शनिक पक्षलाई ध्यानमा राखेर हाम्रा पूर्खाले ब्रतलाई जीवनमा ढालेका रहेछन्।

रमादानमा एक महिनासम्म ब्रत बस्दा कस्ता-कस्ता फाइदा हुन्छ भनेर अनेक वैज्ञानिकले गरेको अनुसन्धान देखाएका छन्। ब्रत गर्दा आन्द्रालाई आराम मिल्छ र यो बेलामा शरीरमा भएका विषादी बाहिर निकाल्न मद्दत गर्छ।

तौल, युरिक एसिड बढी भएर खुट्टाका बुढी औंला सुन्निएर हिँड्नै नसक्ने मेरा एक परिचित हप्तामा दुई दिन आइतबार र बिहीबार २४–२४ घन्टा ब्रत बस्न थाले। त्यो दिन उनले पानी मात्र खाएर ४ महिनामा उनको तौल ६ किलो घट्यो। युरिक एसिड कम भएर दुखाइ पनि हरायो। अहिले त उनी हप्तामा एक दिन ब्रत बस्नेबाहेक आजकालको ‘१६ घन्टा नखाने’ ब्रत पनि बस्छन्। कहिले कहिले फलफूल मात्र खान्छन्। कहिले दूध खान्छन्। उनको स्वास्थ्य राम्रो भएको छ।

उनले यसरी ब्रत बसेको कुनै ‘भगवान’ का लागि भने होइन।

‘त्यो भगवान चाहिँ मेरो शरीरमा नै छन्। शरीर नदुखेपछि भगवान पनि खुसी हुँदा रहेछन्। मेरो मनमा पनि शक्ति छाएको छ,’ उनी भन्छन्।

अर्थात उनले हाम्रो हिन्दु संस्कृतिको ‘ब्रत’ बस्ने प्रक्रियालाई कुनै बन्धनमा नबाँधी आफ्नो शरीर र मन स्वस्थ रहोस् भनेर ब्रत बसेका छन्।

पोषणविदहरू भन्छन् विभिन्न नसर्ने रोगहरूमा पनि कम खाने, ब्रत बस्ने योगासन र व्यायाम गर्ने कार्यक्रमले सघाउ पुर्‍याउँछ।

कतिपय पेटसम्बन्धी समस्यालाई आयुर्वेद अस्पतालमा कार्यरत बैद्यहरूले पनि खाना कम ख्वाएर वा ब्रत गराएर विभिन्न समस्या समाधान गर्न कोशिस गर्छन्।

बन्दाबन्दीका बेला कति व्यक्तिहरूले विभिन्न कारणले एक छाक मात्र पकाएर खाए। यसरी गर्दा त उनीहरूको तौल घटेको कुरा पनि प्रकाशमा आएको छ। ब्रत बस्न नहुने कतिपय अवस्था पनि छ। ती अवस्था बाहेक एक स्वस्थ व्यक्तिले सके हरेक हप्ता, न सके हरेक महिना ब्रत बसौं प्लिज!

Next Post

पत्रकार डेकेन्द्रराज थापाकाे परिवार भन्छः न्यायको लडाइ झन पीडादायक छ

२०७७ श्रावण २७, मंगलवार १७:४४
सुर्खेत स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाका परिवारलाई अझैसम्म न्यायको अनुभूति दिन नसकेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन । उनकी श्रीमती लक्ष्मी थापाले न्यायको लडाइँ जारी रहेको बताइन् । श्रीमानको हत्या भएपछि पनि न्यायको लागि संघर्ष गर्नुपर्दा झन पीडा महसुस भएको उनको भनाइ छ । ‘उहाँलाई विभत्स तरिकाले हत्या गर्ने हत्यारालाई राज्यले […]