दैलेख, १४ जेठ २०८३
दैलेखमा विपद् उद्धार सम्बन्धी संयुक्त अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला प्रशासन कार्यालय दैलेखको तालुक समन्वयमा कालिदत्त गुल्म काँडाचौर व्यारेक दैलेख, जिल्ला प्रहरी कार्यालय दैलेख तथा सशस्त्र प्रहरी बल (हे.क्वा.) दैलेखको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।

डुङ्गेश्वर गाउँपालिका–१ चुप्रा स्थित लोहरे खोलामा बिहीबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द सारुको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा सहायक सेनानी रवि लिम्बु, प्रहरी नायब उपरीक्षक श्रवण कुमार वि.क., सशस्त्र प्रहरी नायब उपरीक्षक मात्रिका पौडेल लगायत विभिन्न सरोकारवाला निकायका प्रमुख, प्रतिनिधि तथा स्थानीयवासीहरुको सहभागिता रहेको थियो।

अभ्यासका क्रममा बाढी तथा अन्य प्राकृतिक विपद्का समयमा गरिने उद्धार कार्यको नमुना प्रदर्शन गरिएको थियो। सुरक्षा निकायबीच समन्वय सुदृढ बनाउने, उद्धार क्षमता अभिवृद्धि गर्ने तथा स्थानीय तहमा विपद् सचेतना फैलाउने उद्देश्यले संयुक्त अभ्यास आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा विपद्को समयमा अपनाउनुपर्ने सुरक्षा उपाय, उद्धार प्रक्रिया तथा तत्काल प्रतिकार्यका विषयमा समेत जानकारी गराइएको थियो। स्थानीयवासीहरुले यस्ता अभ्यासले विपद् व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
भिडियाे: https://www.facebook.com/share/v/18MdsU3SCW/

