जाजरकोट जीप दुर्घटना अपडेट: ज्यान गुमाउनेकाे संख्या ६ पुग्याे

गज्जब नेपाल
२०७७ आश्विन २१, बुधबार

असोज २१, २०७७
जाजरकोट – जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बुधबार जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । दुर्घटनामा वडाध्यक्षसहित ६ जनाको ज्यान गएको हो भने एक जना बेपत्ता छन् । त्यस्तै एक जना घाइते भएका छन् ।

जाजरकोट सदरमुकाम खलङ्गाबाट जुनीचाँदे गाउँपालिकाको केन्द्रतर्फ गइरहेको भे १ ज ९३५ नम्बरको यात्रुवाहक जीप गाउँपालिका १ को औल खोला भीरमा दुघर्टना भएको हो ।

जाजरकोट प्रहरीका अनुसार ज्यान गुमाउनेमा गाँउपालिकाको वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ वर्षीय कृतिबहादुर शाही, लालबहादुर बुढा र त्यही वडाका स्वास्थ्यकर्मी ३२ वर्षीय खेमराज शाही हुन् ।

त्यस्तै वडा नम्बर ५ गर्खाकोटका २९ वर्षीय कृष्णबहादुर शाही र गर्खाकोट मटेलाकी २५ वर्षीया मालिका बस्नेतको ज्यान गएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर श्रेष्ठले जानकारी दिनुभयो ।

एक जना भने मजकोट खोलामा बेपत्ता भएको अनुमान गरिएको छ, उनको खोजी कार्य जारी रहेको छ ।

दुर्घटनामा घाइते भएका वडा नम्बर ११ का नरबहादुर बुढालाई उपचारका लागि जिल्ला सदरमुकाम खलङ्गा ल्याइँदैछ । औल खोला भीरबाट खसेको गाडी झण्डै तीन सय मिटर तल रहेको मजकोट खोलामा परेको थियो । अहिले गाडी खोलामै छ ।

वडाध्यक्ष शाहीको शव निकालिसकिएको छ भने अन्यको शव पानीभित्रै खोलामा रहेको र निकाल्न पहल भइरहेको डीएसपी श्रेष्ठले बताउनुभयो ।

गाडी चालक गोरख बस्नेत भने फरार छन् । घटनास्थल सदरमुकाम खलङ्गादेखि झण्डै २० कोस पश्चिममा पर्छ ।

Next Post

आईपीएल : कोलकाताकाे सानदार जित, चेन्नेई चौथो पटक पराजित

२०७७ आश्विन २१, बुधबार
असोज २२, २०७७ काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नेई सुपर किङ्ग्स चौथो पटक पराजित भएको छ। बुधबार राति यूएईको आबुधाबीमा भएको खेलमा कोलकाता नाइट राइडर्सले चेन्नेईलाई १० रनले हराएको हो । पहिला टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा १६७ रन बनायो । पहिलो विकेटका लागि सुभमन […]