दैलेख –
दैलेखमा राष्ट्रिय सेवा दल अन्तर्गत जुनियर डिभिजन तालिम सुरु गरिएको छ। युवा पुस्तामा अनुशासन, नेतृत्व क्षमता र राष्ट्रप्रेम अभिवृद्धि गर्ने उद्देश्यले नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रम अन्तर्गत आर्थिक वर्ष ०८३/८४ मा देशभरका २ सय ५७ विद्यालयका ७ हजार ७ सय १० विद्यार्थीलाई समेट्ने योजना अनुसार दैलेखमा पनि सञ्चालनमा ल्याइएको हो।

यस्तै नौमुले गाउँपालिका–१ स्थित श्री भैरव माध्यमिक विद्यालयका छात्र १५ र छात्रा १५ गरी ३० जना विद्यार्थीलाई सहभागी गराई असार १ गते बिहान १०:३० बजे तालिम सुरु गरियो।
डुङ्गेश्वर गाउँपालिका–२ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयका छात्र १५ र छात्रा १५ गरी ३० जना विद्यार्थीलाई तालिममा सहभागी गराइयो।
तालिमको उद्घाटन श्री कालीदत्त गुल्मका गुल्मपति सेनानी सबल जंग शाहले पहिलो प्रवचनमार्फत गरे। उनले युवामा अनुशासन, जिम्मेवारीबोध र देशप्रेम विकास गर्न यस्तो तालिम महत्वपूर्ण रहेको बताए।

कार्यक्रममा अभिभावक, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले तालिमले विद्यार्थीको व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि तथा सामाजिक जिम्मेवारीबोध सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
राष्ट्रिय सेवा दल कार्यक्रमले युवालाई सक्षम, अनुशासित र राष्ट्रप्रति समर्पित नागरिकका रूपमा तयार पार्ने लक्ष्य लिएको छ।

