हालै संसद्को रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले “सीमा विवादमा भारतले मात्र नभई नेपालले पनि भारतीय भूमि मिचेको कुरा आफू प्रधानमन्त्री भएपछि मात्र थाहा पाएको” भनी दिएको अभिव्यक्तिले राष्ट्रिय राजनीति र सामाजिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ। देशको कार्यकारी प्रमुखले संसद् जस्तो गरिमामय, सार्वभौम र संवेदनशील थलोमा भू-राजनीतिक रूपमा अत्यन्त संवेदनशील विषयमा यसरी बोल्नु कति कूटनीतिक वा परिपक्व थियो भन्ने विषयमा बहस होला नै तर, यो अभिव्यक्तिपछि समाजमा देखिएका प्रतिक्रियाहरूले हाम्रो एउटा गम्भीर सामाजिक-मनोवैज्ञानिक यथार्थलाई पुनः उजागर गरेको छ । यस्तो लाग्छ, हामी अत्यधिक भावनात्मक रूपले एकपक्षीय सोचबाट निर्देशित हुँदै गएका त छैनौं?
नेपालमा कुनै पनि राष्ट्रिय विषय उठ्ने बित्तिकै तथ्यभन्दा पहिले हाम्रो भावना सक्रिय हुन्छौँ। हामी विषयको गहिराइमा जानुभन्दा पहिला आफ्नो पक्ष रोज्छौँ। यही प्रवृत्तिले गर्दा एउटै विषयमा फरक–फरक व्यक्तिको भनाइअनुसार हाम्रो प्रतिक्रिया बदलिने गरेको छ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक–कालापानी क्षेत्र नेपालको हो भनेर दृढ अडान लिँदा धेरै नेपालीहरू भावनात्मक रूपमा उत्साहित भएका थिए। उनलाई साहसी राष्ट्रवादी नेताको रूपमा चित्रित गरियो । यसरी हामी सत्य र तथ्यभन्दा पर भावनात्मक रुपमा छिट्टै समर्थक र छिट्टै विरोधी बन्न पुग्छौं।
नेपाली समाजमा ‘आफ्नो’ र ‘अरू’ भन्ने सोच निकै गहिरो छ। आफ्नो मान्छे, आफ्नो दल वा आफ्नो विचारप्रति हामी स्वतः समर्थनमा उभिन्छौँ, चाहे त्यो सही होस् वा गलत। अर्कोतर्फ, फरक विचार राख्ने व्यक्तिलाई तुरुन्तै आलोचना गर्ने, गलत ठहर गर्ने वा शंका गर्ने प्रवृत्ति पनि उत्तिकै बलियो छ। यसले गर्दा निष्पक्ष रूपमा विषयलाई विश्लेषण गर्ने बानी क्रमशः हराउँदै गएको छ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यो समस्या अझै चर्किएको छ। अहिले तथ्यभन्दा भावनात्मक प्रतिक्रिया छिटो फैलिन्छ। कसैले आफ्नो धारणा विपरीत कुरा गर्यो भने तुरुन्तै आक्रोश व्यक्त गर्ने, गाली गर्ने वा देशद्रोहीको आरोप लगाउने प्रवृत्ति सामान्य जस्तै बनेको छ। यस्तो वातावरणमा गम्भीर र तथ्यमा आधारित बहस हुनै सक्दैन।
वास्तवमा नेपाल–भारत सीमा विवाद धेरै पुरानो र जटिल विषय हो। यो एकपक्षीय होइन, बरु ऐतिहासिक सन्धि, नक्सा, प्राविधिक त्रुटि र स्थानीय अवस्थासँग जोडिएको विषय हो। यस्ता विषयलाई बुझ्न भावनाभन्दा बढी अध्ययन, प्रमाण र धैर्य आवश्यक हुन्छ। तर हामी यस्ता गहिरा विषयलाई पनि सतही रूपमा लिन्छौँ र आफ्नो भावनालाई मिल्ने कुरा मात्र स्वीकार गर्छौँ।
आजको सबैभन्दा ठूलो समस्या भनेको हामीले तथ्यभन्दा भावनालाई माथि राख्नु हो। जबसम्म हामीले ‘देशभन्दा माथि दल होइन’ र ‘भावनाभन्दा माथि तथ्य’ भन्ने सोच विकास गर्न सक्दैनौँ, तबसम्म हाम्रो समाज परिपक्व बन्न सक्दैन।
राष्ट्र निर्माणका लागि अन्ध-समर्थन होइन, विवेकपूर्ण सोच आवश्यक हुन्छ। कसैले बोलेको कुरा मन परेन भने त्यसलाई गाली गरेर होइन, तर्क र प्रमाणका आधारमा बहस गरेर मात्र सही निष्कर्षमा पुग्न सकिन्छ। लोकतन्त्रको सुन्दरता नै फरक मतलाई सम्मान गर्दै सत्यको खोजी गर्नु हो, न कि एकअर्कालाई दबाउने वा चुप लगाउने।
आज हामीले गम्भीर रूपमा आत्ममूल्यांकन गर्नुपर्ने बेला आएको छ। हामी कत्तिको निष्पक्ष छौँ? हामी सत्य सुन्न तयार छौँ कि छैनौँ? हामी आफ्ना विश्वासभन्दा बाहिरको यथार्थ स्वीकार गर्न सक्छौँ कि सक्दैनौँ? यी प्रश्नहरूको उत्तरले हाम्रो सामाजिक परिपक्वता र लोकतान्त्रिक संस्कारको स्तर निर्धारण गर्छ।
अन्ततः, यो विषय कुनै एक प्रधानमन्त्री, नेता वा दलको मात्र होइन । यो हाम्रो सामूहिक सोचको विषय हो। यदि हामी अझै पनि भावनाको भरमा निर्णय गर्ने हो भने, हामी बाहिरबाट जति राष्ट्रवादी देखिए पनि भित्रभित्रै कमजोर हुँदै जानेछौँ।
संसद्मा प्रधानमन्त्रीले व्यक्त गर्नुभएको विषयको कूटनीतिक र कानुनी निरूपण राज्यका निकायहरूले आफ्नै संयन्त्रमार्फत गर्लान्। तर, यस घटनाले नेपाली समाजलाई एउटा स्पष्ट ऐना देखाएको छ। अब पनि हामी यो एकपक्षीय, दलीय र भावनात्मक दलदलबाट बाहिर निस्केर बहुआयामिक सत्य र निष्पक्षताको कसीमा उभिन सकेनौँ भने, हामी राष्ट्रियताको खोक्रो नारा त लगाइरहनेछौँ, तर आन्तरिक रूपमा संकीर्ण र कमजोर बन्दै जानेछौँ।
जय देश। जय मातृभूमि।
लेखक
-तीर्थ भण्डारी

