१७, फागुन, चितवन ।
गाैतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि भरतपुर महानगरपालिकाले टेन्डर आह्वान गरेको छ । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको रंगशाला निर्माणका लागि टेण्डर आह्वान भएको हाे । महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले ३० दिनको म्याद राखेर एक अर्ब १० करोडको ठेक्का आह्वान गरिएको जानकारी दिए ।
सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । वरिष्ठ इन्जिनियर आचार्यका अनुसार मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३ /३ तलाको टावर बनाइने छ । एउटामा भीआईपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरु हुनेछन् ।
यस्तैं, गेट, कम्पाउण्डवाल लगायतका थप पूर्वाधार पनि यही भित्र बन्ने आचार्यले जानकारी दिए । ३० महिना ठेक्काको म्याद तोकिए पनि सोभन्दा अगाडि नै रंगशालाको काम सक्ने गरी महानगरले सहजीकरण गर्ने वरिष्ठ इन्जिनियर आचार्यले बताए । यसअघि रंगशाला सम्बन्धी नै कामकाज गरेको ५८ करोडभन्दा बढी टर्न ओभर गरेको अनुभवी ठेकेदार कम्पनी हुनुपर्ने मापदण्डमा राखिएको छ ।
महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको निर्माण महानगरको गौरवको परियोजना भएको बताइन् । उनले ठेक्का आह्वानसँगै रंगशाला निर्माण सम्पन्न गर्ने आफ्नो संकल्प अब पूरा हुने बताइन् । ‘रंगशाला निर्माणको काम विभिन्न कारणले रोकिंदा म निकै दुःखी थिए । यसलाई जसरी पनि बनाउनुपर्छ भनेर लागे ।
रंगशालाको पहिलो फेजको काम लागि टेण्डरमा आह्वान गरिएको बताउँदै उपनिर्देशक अर्यालले यो निर्माणको प्रकृयामा रहँदा दोस्रो फेजको कामका लागि पूर्वतयारी गर्ने जानकारी दिए । धुर्मस सुन्तली फाण्डेशनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्ण रुपमा काम रोकिएको थियो ।