पेरु कोरोना मृत्युदरमा अमेरिका र ब्राजिल भन्दा पनि अगाडि

गज्जब नेपाल
२०७७ भाद्र १४, आईतवार

भदौ १४, २०७७, काठमाण्डौ

कोरोना भाइरसको सङ्क्रमण अमेरिका, ब्राजिल र भारतमा धेरै भए पनि सङ्क्रमणका कारण हुने मृत्युदरमा पेरु अग्रस्थानमा छ । पेरुमा प्रति १० लाख जनसङ्ख्यामा आठ सय ६६ जनाको ज्यान जाने गरेको वर्ल्डाेमिटरले जनाएको छ । यस्तै जोन हप्किन्स विश्वविद्यालयले पनि दक्षिण अमेरिकी देश पेरुमा कोरोनाको सङ्क्रमणको मृत्युदर सबैभन्दा धेरै रहेको जनाएको छ ।

अमेरिकामा मृत्युदर प्रति १० लाखमा पाँच सय ६४ जना छ भने ब्राजिलमा प्रति १० लाखमा पाँच सय ६६ जना छ । स्वास्थ्य क्षेत्रमा सुधार गर्न नसक्दा पेरुमा मृत्युदर बढेको विज्ञले बताएका छन् । स्वास्थ्यकर्मीको तलब, अस्पताल र सघन उपचार कक्ष (आईसीयू) मा शय्या कम हुँदा मृत्युदर बढेको बीबीसी हिन्दीले लेखेको छ । कोरोना सङ्क्रमणको पहिलो चरणमा त्यहाँका अस्पतालमा तीन हजार शय्या र आईसीयूमा एक सय शय्याको मात्र व्यवस्था थियो ।

राष्ट्रपति मार्टिन भिजकाराले अहिले अस्पतालमा शय्या बढाएर १८ हजार पुर्‍याइएकाे आईसीयूमा एक हजार ६ सय ६० शैय्या पुर्‍याइएकाे दाबी गर्नुभएको छ । यस्तै कोरोना भाइरसबाट जोगिन स्वास्थ्य सुरक्षामा आवश्यक सावधानी नअपनाउँदा पेरुमा मृत्युदर बढेको पाइएको छ । लकडाउन गरे पनि सुरक्षा मापदण्ड पालना नगर्दा सङ्क्रमण फैलिएको छ । लकडाउनको पालना भएन । लकडाउनका बेला पनि सभा पार्टीलगायतका कार्यक्रम आयोजना भयो । यस्तै अक्सिजनको कमीका कारण पनि धेरै सङ्क्रमितले ज्यान गुमाएका छन् ।

अक्सिजनका लागि नागरिक लामो लाइनमा बस्न बाध्य भएका र अक्सिजनको मागसँगै मूल्य पनि बढेको खबरमा उल्लेख छ । तीन करोड ३० लाखभन्दा धेरै जनसङ्ख्या रहेको पेरुमा अहिले ६ लाख ३९ हजारभन्दा धेरै सङ्क्रमित छन् भने अहिलेसम्म २८ हजार ६ सय सात जनाको ज्यान गएको छ । चार लाख ४६ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । अहिलेसम्म ३१ लाख ५६ हजारभन्दा धेरैको परीक्षण गरिएको छ ।

मृत्युदर बढेपछि पेरु सरकारले अब स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न/गराउन कडाइ गर्ने भएको छ । यसअघि कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि पेरुले कडा प्रतिबन्धसमेत लगाएको थियो । लकडाउनका कारण राहत प्याकेज दिनेमा पेरु नै पहिलो देश थियो ।

Next Post

काठमाण्डाै उपत्यकामा पछिल्लाे २४ घण्टामा ४२९ जनामा पुष्टि

२०७७ भाद्र १४, आईतवार
भदौ १४, २०७७ काठमाण्डाै काठमाण्डाै उपत्यकामा पछिल्लाे २४ घण्टामा ४२९ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार काठमाण्डाैका तीन सय ७२ ललितपुर १२ र भक्तपुरमा ४५ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै पछिल्लाे २४ घण्टामा उपत्यकासहित देशैभर १२२१ काेराेनाका सङ्क्रमित थपिएका छन् । केही दिनयता […]