कालापानी–लिम्पियाधुरा–लिपुलेकका बारे नेपाल–भारत संवाद सुरु

गज्जव नेपाल समाचारदाता
 
२०७७ भाद्र १, सोमबार १६:३६ मा प्रकाशित

काठमाडौं, भदौं १
भारतले कालापानीमा सडक निर्माण र नेपालले नयाँ नक्शा प्रकाशन गरेपछि दुई देशबिच बढेको तिक्तताको विषयमा संवादको थालनी भएको छ । दुई देशबीच कर्मचारीस्तरमा नेपाल भारतबीच संयुक्त निरीक्षण संयन्त्र (ओभरसाइट मेकानिज्म) को सोमबार भर्चुअल बैठक भएको हो ।
नेपाल पक्षले समग्र परियोजनाको समीक्षा गर्दै कोरोना विरुद्धको लडाइमा भारतीय सहयोगका लागि धन्यवाद दिएको छ । संयन्त्रको मात्र बैठक भएकाले सीमा विवादबारे कुरा नभएको मन्त्रालयले जनाएको छ ।

परियोजनाका विभिन्न पक्षबारे विस्तृत छलफल गर्दै दुबै पक्षले कार्यान्वयनको गति तीव्र बनाउने सहमति गरेका छन् । कालापानी–लिम्पियाधुरा–लिपुलेकको जमीनका बारेमा दुई देशबीच विवाद भइरहेका समयमा नेपाल र भारतबीच आधिकारिकस्तरमा पहिलो पटक यो बैठक बसेको हो ।

शनिवार दुबै देशका प्रधानमन्त्रीबीच टेलिफोनमा संवाद पनि भएको थियो । सोमबारको बैठकमा भारतीय पक्षले नेपालमा भूकम्पबाट भत्किएका घर पुननिर्माण गर्ने क्रममा भारतले प्रतिवद्धता गरेअनुसार ५० हजारमध्ये ४६ हजार ३०१ घर निर्माण गरिएको जानकारी गराएको छ ।

सोमवारको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्रा सहभागी हुनुहुन्थ्यो । कोरोनाका कारण भिडियो कन्फरेन्समार्फत भएको बैठकमा विशेग गरी भारतको सहयोगमा सञ्चालित परियोजनाहरुमा केन्द्रित रहेर कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालमा भारतीय लगानीमा सञ्चालित परियोजनाहरुको अनुगमनका लागि यो संयन्त्र गठन भएको थियो । बैठकमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको विषयमा पनि छलफल भएको थियो । सन् २०१९ को जुलाई ७ र ८ मा भएको सातौँ बैठकपछि द्विपक्षीय आर्थिक तथा विकास सहकार्यका परियोजनामा भएको कार्य प्रगतिबारे समीक्षा भएको बैठकपछि जारी वक्तव्यमा जनाइएको छ ।

भारतको सहयोगमा नेपालको तराई क्षेत्रमा सडक तथा रेल मार्ग निर्माण भइरहेको छ भने भूकम्पपछिको पुनर्निर्माण, प्रहरी प्रशिक्षण एकेडेमी, पोलिटेक्निक कलेज तथा पाइपलाइन निर्माणको काम पनि भइरहेको छ । परियोजनाहरुको मूल्यांकनका लागि सन् २०१६ मा गठन गरिएको संयुक्त संयन्त्रको बैठक पछिल्लो पटक सन् २०१९ को जुलाईमा भएको थियो ।

Next Post

यूरोपा लिगमा म्यान्चेस्टरको उपाधी जित्ने सम्भावना सकियो

२०७७ भाद्र १, सोमबार १६:३६
काठमाडौं । इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेडको युरोपा लिगको उपाधि जित्ने यात्रा टुंगिएको छ । गएराति भएको खेलमा सेभियाले म्यान्टेस्टरलाई २–१ गोलअन्तरले पराजित गरेसँगै म्यान्चेस्टरको उपाधिको यात्रा टुंगिएको हो । ब्रुना फर्नान्डेजले नवौं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अघि बढाएका थिए । मार्कुस रासफोर्डलाई डिएगो कार्लोसले फल गरेपछि युनाइटेडले पेनाल्टीको अवसर पाएको […]