दैलेख।
लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा दैलेखको भगवतीमाई गाउँपालिकाले विद्यार्थी लक्षित लागूऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ।

भगवतीमाई गाउँपालिका–१ स्थित ज्वाला माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लागूऔषध दुरुपयोग, यसको स्वास्थ्य तथा सामाजिक असर, कानुनी व्यवस्था र अपराधसँगको सम्बन्धबारे प्रशिक्षण दिइएको थियो।

प्रशिक्षक तीर्थ भण्डारीले लागूऔषधको प्रयोगले व्यक्तिको स्वास्थ्य, शिक्षा, पारिवारिक जीवन र भविष्यमा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराउँदै लागूऔषध सेवन तथा ओसारपसार कानुनी रूपमा दण्डनीय अपराध भएको बताए। उनले युवापुस्ताले गलत संगत र कुलतबाट टाढा रहँदै सचेत र जिम्मेवार नागरिक बन्नुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रहरी चौकी बेस्तडाका प्रमुख प्रहरी सहायक निरीक्षक तथा भगवतीमाई गाउँपालिकाका महिला विकास निरीक्षक सरस्वती पौडेलले पनि सहजीकरण गर्दै लागूऔषध नियन्त्रणमा विद्यार्थी, अभिभावक, विद्यालय र समुदायको साझा भूमिका आवश्यक रहेको बताए।
सहभागी विद्यार्थीहरूले प्रशिक्षणबाट लागूऔषधका दुष्परिणाम, कानुनी प्रावधान तथा यसबाट बच्ने उपायबारे महत्वपूर्ण जानकारी प्राप्त भएको बताएका थिए।
गाउँपालिकाले यस्ता सचेतनामूलक कार्यक्रमले किशोर–किशोरीमा लागूऔषध दुरुपयोगविरुद्ध सकारात्मक सोचको विकास गर्नुका साथै सुरक्षित र स्वस्थ समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

