दैलेख।
दैलेखको भगवतीमाई गाउँपालिका–स्थित ज्वाला माध्यमिक विद्यालयमा बालविवाह न्यूनीकरणका लागि जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ।

सोसेक नेपालको आयोजनामा विद्यालयको सरस्वती बाल क्लबका बालबालिकाले बालविवाहविरुद्ध सडक नाटक प्रस्तुत गरेका हुन्। नाटकमार्फत कम उमेरमा विवाह गर्दा बालबालिकाको शिक्षा, स्वास्थ्य, मानसिक अवस्था र भविष्यमा पर्ने नकारात्मक असरलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा सोसेक नेपालका फिल्ड सुपरभाइजर जयबहादुर बिष्ट, प्रहरी चौकी बेस्तडाका प्रहरी सहायक निरीक्षक, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा करिब ३०० जना विद्यार्थीको सहभागिता रहेको थियो।

सहभागीहरूले बालविवाह कानुनी रूपमा दण्डनीय अपराध मात्र नभई बालबालिकाको शिक्षा, स्वास्थ्य र उज्ज्वल भविष्यमा गम्भीर असर पार्ने सामाजिक कुरीति भएको बताएका थिए। समुदाय, अभिभावक, विद्यालय र सरोकारवाला निकायको संयुक्त प्रयासबाट मात्रै बालविवाह न्यूनीकरण गर्न सकिनेमा उनीहरूले जोड दिएका थिए।

सोसेक नेपालका फिल्ड सुपरभाइजर जयबहादुर बिष्टले बालविवाहविरुद्ध समुदायमा सचेतना अभिवृद्धि गर्न तथा बालअधिकार संरक्षणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिइने जानकारी दिए।
कार्यक्रममा प्रस्तुत गरिएको सडक नाटकले विद्यार्थीहरूलाई बालविवाहका कानुनी, सामाजिक र मनोवैज्ञानिक असरबारे स्पष्ट सन्देश दिएको थियो। सहभागीहरूले पनि यस्ता सिर्जनात्मक कार्यक्रमले समुदायमा सकारात्मक चेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।


