१८ भदौ, काठमाडौं ।
अर्थमन्त्री डा. युवराज खतिवडा ७२ घण्टामा पदमुक्त हुंदैछन । उनको ६ महिने कार्यकाल आइतबार राति १२ बजेसम्म मात्रै रहेकाे छ । डा. खतिवडा ०७६ साल फागुन फागुन २० गते अर्थमन्त्रीबाट राजीनामा दिएर २१ गते अर्थमन्त्रीमा पुनः नियुक्त भएका थिए । उनले २१ गते नै सपथ-ग्रहण गरेका थिए ।
सपथ ग्रहण गरेको दिनदेखि गणना गर्दा भदौ २१ गते राति १२ बजे उनको ६ महिने पदावधि समाप्त हुन्छ । संविधानअनुसार संसदको सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न मिल्दैन । संविधानतः मन्त्री पदमा बस्न नमिल्ने भएकाले अर्थमन्त्री खतिवडाले अबको दुई दिनभित्र राजीनामा दिने सम्भावना रहेको उच्च स्रोतले बताएकाे छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा रहेको रिक्त पदमा खतिवडालाई नियुक्त गर्ने र अर्थमन्त्रीमा निरन्तरता दिने ईच्छा गरे पनि पार्टी उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा जाने चाहना प्रकट गरेका छन् । आज दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले बहुमतका आधारमा वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय गर्दैछ । वामदेवलाई राष्ट्रियसभामा लैजाने औपचारिक निर्णय हुनु भनेको अर्थमन्त्री खतिवडाको बहिगर्मन निश्चित हुनु हो ।
त्यसो त बुधबार राति बालुवाटारमा प्रधानमन्त्री ओली र वामदेव गौतमवीच छलफल भएको थियो । सो छलफलमा प्रधानमन्त्री ओलीले अहिले युवराजलाई नै राष्ट्रियसभामा लैजाऔं, तपाईलाई अर्को विकल्प खोजौंला भन्ने गौतमसमक्ष राखेका थिए । तर, गौतमले प्रधानमन्त्रीको प्रस्ताव मानेनन् ।
बुधबार वामदेवसँग छलफल गर्नुपूर्व प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँग पनि युवराज खतिवडालाई राष्ट्रियसभामा मनोनित गर्नेबारे छलफल गरेका थिए । तर, प्रचण्डले पनि यसबारे पार्टीले नै निर्णय गर्नुपर्ने बताए ।
जबकि नेकपा सचिवालयले यसअघि नै वामदेवलाई राष्ट्रियसभामा पठाउने निर्णय गरिसकेको छ । ९ सदस्यीय सचिवालयमा वामदेवको पक्षमा बहुमत छ । महासचिव विष्णु पौडेलसमेत वामदेवकै पक्षमा उभिएका छन् । प्रधानमन्त्रीको पक्षमा ईश्वर पोखरेलमात्र छन् । बादल कतै खुलेका छैनन् ।
वामदेव गौतमले आफूलाई राष्ट्रियसभाको सदस्य मात्रै नभई उपप्रधानमन्त्री र अर्थमन्त्री बनाउनुपर्ने माग गरेका छन् । जब कि संविधानले एकपटक चुनाव हारेको व्यक्ति संसदको सोही कार्यकालमा मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था छ ।