८ असाेज, २०७७ दैलेख
गएको साउन १ गते पहिरो परि घाईते भएकी ठाटीकाँध गाउँपालिकाको –३ खुणखुणीकी ५१ बर्षिया चन्द्रादेवी आलेको उपचारमा समस्या भएको छ । पहिरोले घर बगाउँदा चन्द्रा उनका श्रीमान रंग आले घाईते भएका थिए । घाईते भएका श्रीमानको सामान्य उपचारपछि सञ्चो भएपनि चन्द्रादेवी आले अझै पनि ओछ्यानमा थलिएकी छन् ।

चन्द्राको उपचारका लागि हालसम्म २ लाख ८० हजार खर्च भएपनि सञ्चो नभएको चन्द्राका देवर विष्णु आलेले बताए । उनले भने,के गर्ने हजुर । एकातिर पहिरोले घरखेत बगायो । अर्कोतिर भाउजुको उपचारमा लिएको ऋण तिर्न सक्ने अवस्था छैन । हामी दुःखीलाई कसले सहयोग गर्छ । अब त औषधी किन्न पैसा समेत छैन,उनले दुखेसो पोखे ।
चन्द्रादेवीको उपचारमा लागि गाउँलेले १४ हजार सहयोग गरेका थिए भने कर्णाली प्रदेश अस्पतालले १२ हजार छुट दिएको आलेले जानकारी दिए । चन्द्रादेवीको मेरुदण्ड र हात भाँचिएको छ । उपचार गरेर मेरुदण्डको घाउँ बल्झिएपछि झनै समस्या परेको श्रीमान रंग आलेले बताए । एक जनाले विरामीको हेरचाह गनुपर्छ,घरखेत सबै पहिरोले बगायो । बालबच्चा कसरी पाल्ने उनले दुखेसो पोखे । उनका तीन÷तीनवटा छोराछोरी छन् ।

पहिरोले घरखेत बगाएपछि रंग आलेलाई दिन दुगुना र रात चौकुना छन् । पहिरो घरखेत बगाउँदा घरबार विहिन भएका उनलाई राती निन्द्रा पनि लाग्न छोडी सकेको छ । आर्थिक अभावले गर्दा श्रीमतिको लागि औषधी किन्ने सुक्को पैसा समेत छैन । छोराछोरी र जहान परिवार पाल्ने उस्तै चिन्ता थपिएको छ ।
घरखेत बगाउँदा अहिलेसम्म ठाटीकाँध गाउँपालिकाले एउटा त्रिपाल,केही लत्ताकपडा,भाँडाकुडा र दुई बोरा चामल बाहेक अरु केही नदिएको पिडित परिवारले बताए । पिडित परिवार अहिले त्रिपालमुनि एकसरो कपडामा रात विताईरहेका छन् । पैसा नहुँदा रंग आलेले औषधी समेत किन्न नसकेको बताए ।
तर सोही वडाका वडाअध्यक्ष कर्णबहादुर शाही भने पिडित परिवारका लागि आफु लागि परेको बताए । पिडित परिवारका लागि म नै सुर्खेत पुगेर सहयोग गरेको छु । बरु गाउँपालिकाले उपचार खर्च गरेको छैन । मैले र पिडित परिवारले बारम्बार अनुरोध गर्दा पनि सुनुवाई भएन,वडाअध्यक्ष शाहीले भने ।
विपद जन्य दुर्घटना परि घाईते भएकालाई एकजना बराबर औषधी उपचारको लागि ३० हजार विनियोजन गरे पनि अख्तियार नआउँदा दिन नसकिएको गाउँपालिकाले जनाएको छ ।
क्याप्सन ः आर्थिक अभावले औषधी किन्ने पैसा नपाएर ओछ्यानमा थलिएकी ठाटीकाँध गाउँपालिका ३ की चन्द्रादेवी आले । साउन १ पहिरोमा परि आलेको मेरुदण्ड र हात भाँचिएको छ ।
तस्वीर ः प्रेमिका सिंह


