काठ्माडाैं, २०७८ वैशाख २२
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँग विश्वासको मत मागेका छन्। आज सभापति देउवा निवास पुगेर प्रधानमन्त्री ओलीले वैशाख २७ मा आफूलाई विश्वासको मत दिन भनेका थिए। तर सभापति देउवाले विश्वासको मत दिन नसकिने प्रष्ट पारेका छन्।
उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, नेता सुवास नेम्वाङसहित बुढानिलकण्ठ पुगेका ओलीले कांग्रेस नेताहरूसँग एक घण्टा छलफल गरेका थिए।
छलफलमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सहमहामन्त्री प्रकाशशरण महत थिए।
छलफल सकेपछि पत्रकारहरूसँगको कुराकानीमा सहमहामन्त्री महतले प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव राखेको बताए। विश्वासको मत दिन प्रधानमन्त्रीले आग्रह गरे पनि सरकारले असंवैधानिक काम गरेकोले समर्थन गर्न नसकिने उनको भनाइ छ। आफूहरू विपक्षी पार्टी भएकोले पनि समर्थन गर्न नसक्ने सभापति देउवाको भनाइ थियो।