काठमाडौं, ३१ बैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुभन्दा अघि नै आफूहरुले अघि सारेका माग र मुद्दा सम्बोधन नभए माधव नेपाल पक्षले फेरि सामूहिक राजीनामा दिने चेतावनी दिएको छ । अहिले दुवै पक्षका ६/६ जना नेताहरु सम्मिलित उच्च तहको वार्ता भैरहेको छ ।
तर, जारी वार्ता सकारात्मक नभएको विश्वस्त स्रोतले जनाएको छ । हिजोमात्रै अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच चार घण्टा लामो वार्ता गरेर विवाद हल गर्ने सहमति भएको थियो । तर, नेपालले आज आफू पक्षधर सांसद, स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटी सदस्यहरुसँगको बैठकमा हिजोको वार्ताबारे ब्रिफिङ गरेका थिए ।
कतिपय नेताहरुले ओलीले आफूहरुलाई झुक्याउने काम गरेको हो कि भन्ने आशंका व्यक्त गरेका थिए । नेता नेपालले बजेट ल्याउनुभन्दा अघि अर्थात जेठ १५ गतेभन्दा अघि नै विश्वासको मत लिने कुरा गरेकोमा नेता नेपाल झस्किएको स्रोतको दाबी छ । त्यही भएर नेता नेपाल पक्षधरले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुभन्दा अघि नै आफ्ना मागहरु पूरा हुनुपर्ने अडान लिएको छ ।