कार्तिक २५, २०७८
तनहुँ — चार्जमा रहेको मोबाइल चलाउँदा करेन्ट लागेर शुक्लागण्डकी नगरपालिका–३ दुरुचुङमा एक युवकको मृत्यु भएको छ । बिहीबार बिहान चार्जमा राखेर मोबाइल चलाइरहेको बेला अचानक हाइभोल्टेज आउँदा करेन्ट लागेर २७ वर्षीय चित्रबहादुर राना मगरको मृत्यु भएको हो ।
घटना बिहान करिब ४ बजेतिर भएपनि ७ बजेतिर मात्र थाहा भएको स्थानीयले बताएका छन् । उपचारका लागि जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र झरौटामा ल्याइएका मगरलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
सोही लाइनको करेन्ट लागेर मृतकका काका दलबहादुर राना र २४ वर्षीया गर्भवती महिला सोममाया थापा मगर घाइते भएका छन् । उनीहरुको जिपि कोइराला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ । दलबहादुरको हातमा र सोममायालाई खुट्टामा करेन्ट लागेको थियो ।
ग्रामीण विद्युतीकरण कार्यालयको लापरबाहीका कारण रानाले अकालमा ज्यान गुमाउनु परेको भन्दै पीडित पक्षले क्षतिपूर्तिको माग गर्दै शव उठाएका छैनन् । सामुदायिक ग्रामीण विद्युतीकरण दुलेगौंडा अध्यक्ष रामचन्द्र खनाल जिल्ला बाहिर रहेको र अर्का संचालक देवलाल खनालसँग सामान्य छलफल भएपनि निष्कर्षमा पुग्न नसकेको स्थानीय सुमन आलेले बताए । उनले भने, ‘ग्रामीण विद्युतीकरणको लापरबाहीका कारण नै यस्तो दु:खद् घटना हुन पुग्यो ।’