७५ जिल्लामा फैलियो डेङ्गी ,सबैभन्दा धेरै ललितपुर र काठमाण्डौमा

लामखुट्टेको टोकाइबाट जोगिन विज्ञकोआग्रह

केशबराज पाैडेल
२०७९ भाद्र २०, सोमबार ०९:३०

देशका ७७ जिल्लामध्ये मनाङ र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

डेङ्गीको सङ्क्रमण नदेखिएका दुई जिल्ला मनाङ र हुम्लामा पनि सङ्क्रमणको जोखिम उच्च रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताएका छन ।

सबैभन्दा धेरै ललितपुर र काठमाण्डौमा डेङ्गी फैलिएको छ । ललितपुरमा कतिपय परिवारका सबै सदस्यलाई नै डेङ्गी पुष्टि भएको छ । देशभर अहिलेसम्म ५ हजार २९ जनालाई डेङ्गी भएको मन्त्रालयको तथ्याङ्क छ । यसमध्ये सबैभन्दा धेरै ललितपुरमा १ हजार ८ सय ३२ जना छन् भने काठमाण्डौमा ८ सय ८८ जना छन् ।

डेङ्गीको सङ्क्रमण फैलिरहेकाले स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा महाशाखाले विज्ञहरुसित छलफल सुरु गरेको छ । अझै दुई महिना डेङ्गीको सङ्क्रमण फैलिने जोखिम रहेकाले लामखुट्टेको टोकाइबाट जोगिन विज्ञले आग्रह गर्दै आएका छन् ।

घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका लुगा लगाउन, बाल्टी, बाटा, ड्रम लगायत भाँडोमा लामो समयसम्म पानी जम्मा गरेर नराख्न विज्ञको सुझाव छ ।

यस्तै, कोठामा सजाएर राखिएका फूलदानीमा पनि डेङ्गी सार्ने लामखुट्टेले फुल पार्ने हुँदा बेलाबेला पानी फाल्न र सफा गरिरहन विज्ञको आग्रह छ । गाडीका टायरमा जमेको पानीमा पनि लमखुट्टेले फुल पार्ने हुँदा जमेको पानी हटाउन समेत सुझाव दिइएको छ ।

Next Post

निर्वाचन आचार संहिता सुरु, कर्मचारी नियुक्ति र सरुवा बढुवामा रोक

२०७९ भाद्र २०, सोमबार ०९:३०
काठमाण्डौ – आज देखि सरकारले कर्मचारीको नियुक्ति, सरुवा, बढुवा लगायतका कुनै पनि काम गर्न नपाउने भएको छ । निर्वाचन आयोगले गएको भदौ २ गते दिएको निर्देशनअनुसार सरकारले आजदेखि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो । आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनाव प्रयोजनका लागि यी […]