वीरेन्द्रनगर ३ मा चारदिनदेखि सेवा प्रवाह ठप्प, राजनीतिक किचलाेले नागरिकलाई सास्ती

तीर्थ भण्डारी
२०८० चैत्र २३, शुक्रबार १२:३४

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको ३ नम्बर वडा कार्यालयमा राजनीतिक लडाइँले नागरिकहरुले खेप्नु सास्ती खेपिरहेका छन् । वडाध्यक्ष विनोदसिंह विष्ट र वडासदस्यको लडाइँले सेवा लिन वडा कार्यालय पुगेका सेवाग्राहीहरुले सास्ती खेपिरहेका हुन् । चार दिनदेखि वडाध्यक्ष विष्ट वडा कार्यालय बाहिर छन् । उनले वडा कार्यालयको कार्यबहाकको जिम्मेवारी वडा सदस्य शेरबहादुर थापालाई दिएका छन् ।

तर थापा आफूले पत्र नपाएको भन्दै चार दिनदेखि सेवाग्राहीको काम नगर्दा कार्यालयमा पुग्ने नागरिकहरुले हैरानी ब्यहोरि रहेका छन् । जनताले नै जिताएका वडाध्यक्ष र वडा सदस्यहरुको गैरजिम्मेवारीका कारण सेवा लिन पुगेकाहरु गोलचक्करमा फसेका छन् । ‘जग्गा सम्बन्धीको सिफारिस लिनु थियो, चार दिन भयो वडा कार्यालय धाएको, काम हुँदैन्,’ सेवाग्राही पवित्रा भण्डारीले भनिन्, ‘हाम्रो काम गरिदिनुहोस भन्दा वडाध्यक्षलाई भन्नुहोस् भन्छन्, वडाध्यक्षको फोन लाग्दैन ।’

यता वडाध्यक्ष विष्टले आफू काम विशेषले बाहिर भएकाले कार्यबहाकको जिम्मेवारी वडा सदस्य थापालाई दिएको बताए । ‘काम परेर म बाहिर छु, कार्यबाहकको जिम्मेवारी दिएको व्यक्तिलाई नै सोध्नुहोस् किन काम भएन्,’ विष्टले उल्टै प्रशन गरे, ‘जिम्मेवारी नदिएको भए दोष मेरो हुन्थ्यो । कार्यबहाक तोकिदिएको छु । यस विषयमा थप मेरो भन्नु केही छैन् ।’

कार्यवहाक वडाध्यक्षको जिम्मेवारी पाएका थापाकाअनुसार आधिकारिक पत्र नआएको भन्दै पन्छिए । उनले उल्टै आरोप लगाउँदै भने, ‘उहाँको आफ्नै मुद्दा छ, सफाइ नपाएका व्यक्तिले दिएको पत्रले कसरी काम गर्ने ।’ नागरिकहरुले वडा कार्यालय पुगेर सास्ती खेपिरहेका छन्, काम नहुँदा पीडा भोगिरहेका छन् यसको समाधान गर्नुपर्दैन भन्ने प्रश्नमा थापा भन्छन्, ‘जनतालाई आफूले दुःख नदिएको र उहाँहरुले पाएको पीडालाई किनारा लगाउन नगरपालिकालाई निकाश दिन पत्र पठाएका छौं तर कुनै जानकारी आएको छैन् ।’ वडाध्यक्ष विष्ट र सदस्यहरुको बलमिच्याइले ३ नम्बरका नागरिकहरुले सास्ती खेपिरहेका छन् । विष्ट एमाले र चार जना सदस्य नेपाली काँग्रेसबाट निर्वाचित हुन् ।

Next Post

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि

२०८० चैत्र २३, शुक्रबार १२:३४
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण देखिने क्रम अझै जारी छ । काठ्माडाैंमा काेराेनाकाे नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ । काठमाडौंकै केही संक्रमितको नमूना परीक्षणको क्रममा यो भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार ‘केपी.१’ र ‘केपी.२’ सब भेरियन्ट हो । […]