रूपन्देही,
जिल्लाको बुटवलमा एक जना महिलाको मलामी गएका ९० प्रतिशतलाई कोरोनाको संक्रमण पुष्टि भएको छ ।
साउन १८ गते बुटवल उपमहानगरपालिका- ११ कालिकानगरकी ती ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको थियो।
उनी क्यान्सरको उपचारका लागि अस्पतालमा आएकी थिइन्। मृत्युपछि परिवारले कोरोना परीक्षण गर्न पर्छ कि भनेर सोधेका थिए। किमोथेरापीको क्रममा हृदयघातले मृत्यु भएको भन्दै अस्पतालले कोरोना परीक्षण नगरी पठाइदियो।
सामान्य मृत्युजस्तै ठानेर उनका छिमेकी र नातागोता मलामी गए। उनको दाहसंस्कार गरेर आएको केही दिनमै मृतकका देवरलाई कोरोनाको जस्तै लक्षण देखिए। शंका लागेर जाँच्दा साउन २२ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आयो।
‘अहिलेसम्म ४५ जनाको स्वाब परीक्षण गर्दा ९० प्रतिशतमा कोरोना पोजिटिभ देखिएको छ,’ भट्टराईले भने।
साउन २२ गतेसम्म २७ जनामात्र कोरोना संक्रमित रहेको बुटवलमा १५ दिनमा १ सय १७ जना थपिएर अहिले १ सय ४४ जना पुगेका छन्।
थपिएकामध्ये अधिकांश तीनै मृतक महिलाका आफन्त तथा टोलछिमेक र अन्त्येष्टिमा सहभागी छन्। उनको किरिया गराउने पण्डितलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ
मृतक महिलामा कोरोना भएका कारण अरूमा सर्यो कि उनका देवरबाट अरूलाई संक्रमण फैलियो भन्ने एकिन भइसकेको छैन। भरतपुर क्यान्सर अस्पतालले ती महिलाको उपचारमा संलग्न चिकित्सक वा अन्य स्वास्थ्यकर्मीमा संक्रमण देखिएको पुष्टि गरेको छैन।
सो घटनापछि बुटवलमा कोरोनाको संक्रमण समुदायस्तरमा भूसको आगोजसरी फैलिएको सरोकारवालाहरूले बताएका छन्।
जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले बुटवलमा कोरोना संक्रमण समुदायमै पुगिसकेको र यसको नियन्त्रणको लागि एकअर्का बीचको सम्पर्कलाई टुटाउनु पर्ने बताए।
पछिल्लो समय दिनदिनै बढिरहेका संक्रमितले पनि बुटवलमा संक्रमणको क्रम तीव्र छ भन्ने देखाउँछ।
बुटवलमा फैलिएको संक्रमणको असर छिमेकी पालिका तिलोत्तमा, सैनामैना, देवदह र सिद्धार्थनगरमा पनि परेको छ।



