२०७७ भदौ ११, काठमाडौं
पोखरा महानगरपालिका- ११ कि ३२ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बिहीबार विहान मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि भदौ ७ गतेदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचाररत उनको बिहीबार विहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । उनलाई पोखराको कास्की सेवा हस्पिटलबाट ७ गते प्रतिष्ठानमा ल्याइएको थियो ।
महिलालाई बुधबारदेखि स्वास्थ्य समस्या बढ्दै गएपछि भेन्टिलेटरमा राखिएको थियो । निर्देशक आचार्यले भने, ‘उनमा अरु स्वास्थ्य समस्या नभएको खुलेको छ । कोभिडकै कारणले मृत्यु भएको अहिलेसम्म जानकारीमा आएको छ ।’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने उनी पाँचौं कोरोना संक्रमित हुन् । पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि पोखरा महानगरपालिका-१६ का ८७ वर्षका वृद्ध र पोखरा- १९ का ६२ वर्षका पुरुषको मृत्यु भएको थियो । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ९ पुगेको छ ।
ललितपुरमा उपचाररत ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु
ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिडसँग मिल्दोजुल्दो लक्षण लिएर गत ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार संक्रमणको कारण ति पुरुषको दुवै छातीमा संक्रमण भएको थियो भने निमोनिया पनि भएको थियो । ‘योचाहिँ विशुद्ध कोभिड डेथ देखिएको छ,’ पाठकले भने, ‘भेण्टिलेटरमा राखेर उपचार गर्दागर्दै हिजो राति उहाँको डेथ भयो ।’ पाठकका अनुसार ति पुरुषको स्थायी घर अर्घाखाँची हो भने केही समयदेखि यतै बस्दै आएका थिए ।
वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु
वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ वर्षीय पुरुषमा निमोनियासमेत थियो । उनको उपचारका क्रममा भदौ १० गते साँझ ६ः२२ बजे निधन भएको नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।
बुटवलको कोरोना अस्पतालमा कपिलवस्तुका पुरुषको मृत्यु
बुटवलको धागो कारखानामा सञ्चालित कोारेना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एकजना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भई भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्या रहेका डा. थापाले जानकारी दिए । योसँगै बुटवलको कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।



