२७ भाद्र २०७७, दैलेख
ठाटीकाँध गाउँपालिका–४ गैरागाउँ अहिले पहिरोले नराम्ररी थला परेको छ । यो गाउँलाई अहिले शोकसँगै भोकले गाँज्न थालेको छ । गाउँ वरपर सग्लो जमिन छैनन् । सबैतिर पहिरोले क्षतविक्षत छ ।
पहिराेले आँखै अगाडी बगाएको आफ्नै गाउँ हेरेर बेलाबेला दानबहादुर कठायत आँसु खसाल्छन् । उनी मन थाम्न सक्दैन् । आकाशमा बादल देख्नासाथ मन झसंग हुन्छ उनकाे । उनी मात्र हाेइन गैरागाउँका ९० घर परिवार नै यतिबेला पहिराेकाे त्रासमा बाँचिरहेका छन् ।
गाउँमा भदौ २ गते परेको अबिरल वर्षातका कारण गैरागाउँमा पहिरो गएको थियो । पहिरोमा परी दुई बालक जनक कठायत र लोकेश कठायतको मृत्यु भयो । पहिरोमै परी ७ जना घाइते भए । घाइतेमध्ये दुईजना उपचारकै क्रममा छन् ।
पहिरोले ७ घर पूर्ण रुपमा ध्वस्त भएको वडाध्यक्ष रमेशबहादुर सिजापतीले बताए । ‘पहिरोले ९० घरका नागरिक विस्थापित भएका छन्, गाउँका ८१ घर पहिरोको उच्च जोखिममा परेको छ,’ वडाध्यक्ष सिजापतीले भने ।
पहिरोले बस्तीसँगै बारीमा लगाएको धान र मकैबाली सखाप पारेको छ । पहिरोले सर्वस्व गुमाई विस्थापित भएकाहरु अहिले डाडाँमा पाल र आफन्तको घरमा शरण लिइरहेका छन् । ‘पहिरोले करोडौको क्षति भएको, स्थानीयले बास उजाडिएको छ, वडाध्यक्ष सिजापती भन्छन्, ‘पहिरोले विस्थापित नागरिकलाई कहाँ राख्ने भन्ने समस्या छ। गाउँपालिकाले एकिकृत बस्ती बसाल्न पहल गरिरहेकाे ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहिले बताएका छन् ।
भिडियाे हेर्नुहाेस्ः