
काठमाण्डौ – आउँदो मंसिर ४ गते हुने चुनावमा पनि तालमेल गरेर जाने निर्णय गरेका सत्ता गठबन्धनभित्र सिट बाँडफाँट अझै मिल्न सकेको छैन । महिनौँदेखि छलफल भइरहे पनि सहमति हुन सकेको छैन ।
हिजो बसेको बैठक पनि सहमतिमा पुग्न नसकेपछि आज फेरि छलफल हुने नेताहरुले बताएका छन् । झण्डै एक सय सिटमा दलहरूको एकल दाबी रहेको र बाँकी सिटमा एकभन्दा धेरै दलको दाबी हुँदा कुरा मिल्न नसकेको नेताहरुको भनाइ छ । प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० वटै चुनावमा गठबन्धन गर्ने उनीहरुको प्रयास छ । गठबन्धनमा ठूलो दल नेपाली कांग्रेसले बढी सिट लिन खोजेको भन्दै अरु दल असन्तुष्ट छन् भने आफूभन्दा साना दलले हैसियतभन्दा बढी सिट लिन खोजेको भन्दै कांग्रेस पनि असन्तुष्ट भएको छ।
गठबन्धनमा दुई महिना अगाडि नै चुनावी तालमेल गर्ने सहमति भए पनि सिट बाँडफाँटको टुङ्गो लागेको छैन ।


