१७ भदौ, काठमाडौं ।
सर्वाधिक चर्चामा रहेकाे ७० कराेड कमिसनकाे विषयमा अनुसन्धानका लागि विजय प्रकाश मिश्रलाई सात दिनभित्र उपस्थित हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसनमा मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाएको हो ।अख्तियारले बुधबार जारी गरेको सार्वजनिक सूचनामा कमिसन मोलमोलाइको विषयमा केही बुझ्नुपर्ने भएकाले मिश्रलाई उपस्थित हुन भनिएको छ ।
तोकिएको समयसीमाभित्र उपस्थित नभए कानुन बमोजिम हुने अख्तियारले जनाएको छ । ‘यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस आयोगको प्रहरी महाशाखामा अनुसन्धान अधिकृत समक्ष सम्पर्क राख्न आउनु होला, नआए कानुन बमोजिम भइ जाने छ,’ अख्तियारको सूचनामा लेखिएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका थिए । सो अडियो मिश्रले नै गोप्यरुपमा रेकर्ड गरेर मिडियामा दिएको आरोप छ ।
त्यसअघि गत पुस २१ गते संसदको सार्वजनिक लेखा समितिमा विज्ञका रुपमा बोलाइएका मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसका लागि फ्रान्स र जर्मनीका कम्पनीले गरेको प्रस्तावमा आर्थिक चलखेल भएको बताएका थिए ।